प्रभु लाइफको बीमाशुल्क ६४ प्रतिशतले बढ्यो
Monday Feb 14, 2022
वि.सं.२०७८ फागुन २ सोमवार १०:३१
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा खुद बीमाशुल्क ६४.६४ प्रतिशतले बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६० करोड ९९ लाख २९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफामा भने २३.४२ प्रतिशतको गिरावट आएको छ । यस अवधिमा कम्पनीले ६ करोड १९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बीमाङ्कीय मूल्याङ्कन पछि भने कम्पनीको नाफामा फेरबदल आउने छ । इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड ४३ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ४१ करोड ६९ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरी ७० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
























