आयुर्वेद चिकित्सा विज्ञानको विकासका लागि साथ दिन तयार रहेको मन्त्री बस्नेतको प्रतिवद्धता
Wednesday Jul 05, 2023
वि.सं.२०८० असार २० बुधवार २०:०६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेद चिकित्सा उपचार पद्दति छायाँमा परेको भन्दै संगठित रुपमा आयुर्वेद चिकित्सा विज्ञान प्रणालीलाई अगाडि बढाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
बुधवार नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं स्थापना दिवस कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा विज्ञान प्रणालीबाट गरिने उपचार पद्धति छाँयामा परेकाले उक्त क्षेत्र र प्रणालीको विकासका लागि कार्ययोजना लिएर आए मन्त्रालय साथ दिन तयार रहेको बताए ।
उनले भने,‘आयुर्वेद चिकित्साबाट उपचार गर्ने प्रणाली नेपालको ठूलो सम्पति हो । यो विधिलाई अपनाउन सक्यौं भने साइडइफेक्ट नहुने विधि हामीसंग छ,यसैलाई राम्रोसंग अपनाउन सक्दा उपचार नै गर्नुनपर्ने विधि पनि हामीसंगै छ ।
तर, यो भित्र भएका चिकित्सक र यो क्षेत्रका विशेषज्ञहरु किन हामी यो पद्धतिलाई राम्ररी संगठित रुपमा उपयोग गर्न सकिरहेका छैनौं ?’
उनले आयुर्वेद चिकित्सा प्रणालीको विकासको लागि संगठित प्रयासको आवश्यकता रहेको औंल्याएका छन् ।
‘यो क्षेत्रमा काम गर्न नसक्नु महाशाखा नभएर मात्रै होइन्,यही क्षेत्रको विज्ञ मन्त्री भैसक्नुभएको छ । के हुन बाँकी छ यहाँ ? हुन बाँकी के छ भने,हामीले काम गर्न जाँगर लाएनौ,मिहिनेत गरेनौं मन्त्रालयकै पनि सक्रियता कम रह्यो ।
यो विषयमा जसरी एकत्रित भएर काम गर्नुपर्ने हो त्यसमा कमीकमजोरी भएको छ । यो आयुर्वेद चिकित्सा पद्धतिको सबैखाले आयामहरुमा जुन संभावना नेपालमा छ, तपाईंहरु यसलाई अगाडि बढाउने विषयमा संगठित भएर कस्सिएर लाग्नुहोस् म तपाईंहरुलाई सहयोग गर्छु,’ मन्त्री बस्नेतले भने ।
























