भ्याली फुटसल च्याम्पियनसिपको फाइनल चरणका खेलहरु भोलि शनिबार हुने
Friday Jul 07, 2023
वि.सं.२०८० असार २२ शुक्रवार २२:४२
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित भ्याली फुटसल च्याम्पियनसिपको फाइनल चरणका खेलहरु भोलि शनिबार हुने भएको छ ।
काठमाडौं उपत्यकाका सबै २२४ वडाहरुका फुटसल टोलीहरुबीच असार १४ देखि २२ गतेसम्म गराइएको प्रतिष्पर्धाबाट फाइनल राउण्डमा पुगेका २१ पालिकाका २१ टोलीबीच भोलि शनिबार फाइनल चरणका खेलहरु हुने छन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी फाइनल चरणको खेलको बारेमा जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भ्याली फुटसल च्याम्पियनसिपका विजेता टोलीले २ लाख नगद पुरस्कार, उप–विजेताले १ लाख नगद पुरस्कार पाउने जानकारी दिए ।
उनले भने ‘ युवाहरुका र जनसरोकारको मुद्दामा चासो देखाउदै आएको राष्ट्रिय युवा संघ नेपाल युवाहरुको विश्वास र भरोसाको संगठन पनि हो , नेपाली युवाहरुलाई गालबद्ध गर्दै विकास र समृद्धिको यात्रामा डोर्याउने लक्ष्यका साथ यस भ्याली फुटस च्याम्पियनसिपको आयोजना गरिएको हो । ’
फाइनल चरणका खेलहरु कपनको किकर्स फुटसल मैदानमा हुने जानकारी पनि आयोजक युवा संघ नेपालले दिएको छ ।
























