नुवाकोटमा विकासको ठूलो सम्भावना छ : अर्थमन्त्री डा. महत
Saturday Sep 09, 2023
वि.सं.२०८० भदौ २३ शनिवार २२:२३
नुवाकोट । अर्थमन्त्री डा। प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको भन्दै कागज बनाएर अनुदान खाने होईन, उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेको बताए ।
उनले भने, ‘नुवाकोट खाद्यन्नमा आत्मनिर्भर छ । निर्यातका वस्तु धेरै छन् । कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ । कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं । कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं ।’
उनले महिला दिदी बहिनीहरुकै नाममा औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेको भन्दै त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने बताए ।
उनले सिमरा र ढिकुरेको सिँचाइको नहर विग्रिएको भन्दै त्यो निर्माण भइसकेपछि १२ महिना सिचाइँको सुनिश्चिता हुने बताए ।
उनले पार्टीले गरेको कामबारे प्रचार भन्दा एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा टिप्पणी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसबाट पार्टी विकास नहुने बताए ।
उनले भने, ‘हामी साथीहरु पार्टीले गरेको कामबारे प्रचार गर्दैनन् । एकअर्कालाई सानो देखाउन सामाजिक सञ्जालमा हामी हत्त न पत्त टिप्पर्णी गरिहाल्छौं । फलानोले जस पाउँछ कि भन्ने होइन यसको जस पार्टीले पाउँछ । त्यसपछि मात्र पार्टीले गरेपछि भनेर जनताले थाहा पाउँछन् । जो उम्मेदवार भए पनि त्यसपछि मात्र जनताले कांग्रेसलाई मत हाल्छन् । महिला दिदी बहिनीको अगुवाइमा हिजो, आज र भोलि गर्ने कामको प्रचार हुनुपर्यो ।’
छहरे–टोखा सुरुङ मार्ग लामो समयदेखि चर्चामा आएपनि सम्पन्न हुन नसकेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमण मार्फत सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेको बताए ।
यस्तै, मन्त्री महतले महिलालाई लागेको कुरा गीत र नृत्यमार्फत तीजमा मात्र अभिव्यक्त गर्ने चलन पुरानो भएको भन्दै लोकतन्त्रमा ३६५ दिन नै आफ्नो विचार राख्न र चाहेको पेशा व्यवसाय गर्न पाउँने पनि बताए ।
अहिले महिला दिदी बहिनीको युग भएको स्पष्ट पार्दै उनले महिला दिदीबहिनी सशक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस भएको बताए ।
विकास, सामाजिक परम्परा र संस्कृतिको संरक्षणको अगुवाई महिला दिदीबहिनीहरुले गरिरहेको भन्दै महिलाले जिम्मेवारी पाए भने पुरुषभन्दा गम्भीरताका साथ पूरा गर्ने बताए ।






















