कार्यवहाक प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल
Tuesday Sep 19, 2023
वि.सं.२०८० असोज २ मंगलवार ०९:१९
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
रक्षामन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ -आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुनेगरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्ने कुरामा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको उनको सचिवालयको भनाई छ ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्तिसुरक्षामा खलल र्पुयाउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति—सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महंगी नियन्त्रणमा नतिजा आउनेगरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिएका छन् ।
छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति-सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
























