बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Wednesday Mar 19, 2025
वि.सं.२०८१ चैत ६ बुधवार २३:३०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-१ स्थित मणिलेक माविमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, तथा अन्य आम नागरिकहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको छ।
बैंक बैतडी शाखाका प्रबन्धक गोविन्द विष्टको नेतृत्वमा आयोजित यस कार्यक्रममा बचतको महत्व, पैसाको सदुपयोग, अनावश्यक लगानीबाट टाढा रहने, कर्जा लिँदा ध्यान दिनुपर्ने पक्षहरू, ऋण नतिर्दा हुने नकारात्मक प्रभाव, रेमिट्यान्स सही तरिकाले पठाउने, हुन्डीबाट टाढा रहने, डिजिटल बैंकिङको उपयोग, तथा सामाजिक सञ्जाल र अनलाइन ठगीबाट बच्ने उपायहरूबारे विस्तृत जानकारी दिइएको छ।
यस कार्यक्रमको आयोजना नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बैतडी शाखा र सतबाँझ शाखाको संयुक्त प्रयासमा गरिएको हो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताको महत्वबारे जागरूक गराउनुका साथै बैंकिङ सेवाहरूबारे पनि जानकारी दिइएको छ।
बैंकले यस्ता कार्यक्रमहरू मार्फत आम नागरिकहरूलाई वित्तीय रूपमा सशक्त बनाउने र दैनिक जीवनमा वित्तीय सुरक्षाको महत्वबारे जानकारी दिने प्रतिबद्धता जनाएको छ।