वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

Monday Apr 07, 2025
वि.सं.२०८१ चैत २५ सोमवार २१:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्त नहुँदासम्म वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी सुम्पिएको छ।
राष्ट्र बैंकका प्रवक्ता डा। भागवत आचार्यका अनुसार, आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट ढुंगानालाई जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको छ। ढुंगाना हालसम्म राष्ट्र बैंकको नीतिगत तथा नियामकीय पक्षमा सक्रिय रहँदै आइरहेकी छिन्।
यसबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएको छ। यद्यपि गभर्नर नियुक्तिका लागि आवश्यक सिफारिस समितिको बैठक भने हालसम्म बसेको छैन।
राष्ट्र बैंक ऐन अनुसार नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भई योग्य उम्मेदवारको नाम मन्त्रिपरिषदमा पेश गर्नुपर्ने कानुनी प्रक्रिया रहेको छ। तर हालसम्म उक्त प्रक्रिया अघि नबढ्दा गभर्नर पद रिक्त रहने अवस्था आएको हो।
ढुंगानाले कार्यवाहकका हैसियतमा राष्ट्र बैंकको नियमित काम कारबाही तथा मौद्रिक नीतिसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछिन्। गभर्नरको स्थायी नियुक्तिसम्म उनले राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछिन्।