देशको वर्तमान अवस्थाप्रति नाडा अटोमोबाइल्स एशोसिएसनको गहिरो चिन्ता, उद्योग–व्यापारमा नकारात्मक असर
Sunday Sep 14, 2025
वि.सं.२०८२ भदौ २९ आइतवार २२:४३
काठमाडौं । हालै देशव्यापी रुपमा भएका आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले दुःख प्रकट गरेको छ । नाडाले प्रेश विज्ञप्ति जारी गर्दै जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको प्रार्थना समेत गरेको छ ।
विज्ञप्तिमा अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र कर्मचारी, ग्राहक तथा संरचनाको सुरक्षाप्रति चिन्ता बढाएको जनाएको छ । देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याई लगानी र रोजगारीमा चुनौती थपेको नाडाको भनाइ छ ।
नाडाले जटिल समस्याहरुको समाधान शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट खोज्न सकिने विश्वास व्यक्त गरेको छ । साथै सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएकोमा नाडाले शुभकामना व्यक्त गर्दै छिट्टै मन्त्रिपरिषद् गठन भई आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने सरकारको जिम्मेवारी सफल होस् भन्ने अपेक्षा व्यक्त गरेको छ ।




























