मुस्लिम आयोगको अध्यक्षमा सिफारिस अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन हुने
Tuesday Feb 19, 2019
वि.सं.२०७५ फागुन ७ मंगलवार ०९:४०

काठमाडौं, ७ फागुन । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको छ । अन्सारीविरूद्ध समितिमा चार वटा संघीन आरोपका उजुरी परेका थिए । समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो । आजको बैठकमा एक जना मात्र उजुरीकर्ता उपस्थित भएको सुनुवाइ समितिले जानकारी दिएको छ ।
उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका छन् । समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहे–नरहेको कागजात र संवैधानिक परिषदबाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको उक्त बैठकले सांसद भट्टराईको प्रस्तावअनुसार अन्सारीका प्रमाणपत्र झिकाउने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिका–९ का स्थायी वासिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए । गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका हुन् । पछि उनी नेकपाका केन्द्रीय सदस्य बने । कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । यसअघि समितिले अन्सारीको सुनुवाइ बुधबार गर्ने बताएको थियो । उनका कागजात छानबिन हुने भएपछि सुनुवाइ अनिश्चित बनेको छ ।




























