चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

Thursday Oct 09, 2025
वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार गरेको छ । उक्त प्रतिष्ठानमा कार्यरत अनुसन्धान टोलीले पोलिमर अणुयुक्त उच्च ऊर्जा घनत्व भएको लचिलो ब्याट्री आविष्कार गरेको हो । सो नयाँ प्रबिधीयुक्त ब्याट्रीलाई ठूलो मात्राममा उत्पादन गर्न भने केही समय लाग्ने जनाइएको छ ।
इलेक्ट्रोलाइट चुहावटको जोखिमलाई उन्मूलन गर्दै उच्च ब्याट्री क्षमता प्रदान गर्ने कारण सोलिड स्टेट ब्याट्रीलाई विद्युतीय गतिशीलताको भविष्य मानिदै आएको छ । तथापी, ब्याट्री निर्माताहरूले यस्ता प्याकहरूको विकास प्रक्रियाको क्रममा धेरै सुरक्षा चुनौतीहरूको सामना गरिरहेका छन् ।
चिनियाँ विज्ञान प्रतिष्ठान १९४९ मा स्थापित सबैभन्दा ठूलो राष्ट्रिय अनुसन्धान संस्था हो । उक्त प्रतिष्ठानमा लेनोभो सहित धेरै व्यावसायिक शाखाहरू छन् । यो एक आधिकारिक अनुसन्धान केन्द्र हो, त्यसैले ब्याट्रीको क्षेत्रमा यसको पछिल्लो प्रकाशनले धेरैको ध्यान खिचेको छ ।
धातु अनुसन्धान संस्थानका अनुसार, परम्परागत सोलिड स्टेट ब्याट्रीमा इलेक्ट्रोड र इलेक्ट्रोलाइट बीचको कमजोर सोलिड–सोलिड अन्तक्र्रियाले उच्च आयन यातायात प्रतिरोध र कम दक्षता निम्त्याउँछ । त्यसैले, यसको व्यावहारिक प्रयोग सीमित छ ।
यसको ठिक विपरित लचिलो सोलिड स्टेट ब्याट्रीमा पोलिमर अणुहरू, इथोक्सी समुहहरू र इलेक्ट्रोकेमिकल तथा सल्फर चेनहरू हुने हुँदा यसले आयन यातायात र भण्डारण बीच स्विच गर्न पनि सक्षम बनाउँछ । एकीकृत पोलिमर इलेक्ट्रोलाइट भएको कम्पोजिट क्याथोडले ऊर्जा घनत्वलाई ८६ प्रतिशतसम्म बढाउन अनुमति दिएको अटोहोममा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ ।
चीनका धेरैजसो ईभी निर्माताले भविष्यमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा आविष्कार गरिएको नयाँ ब्याट्रीले ईभी यगमा अझै ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।