नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल
Monday Apr 27, 2026
वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी सँग अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे छलफल गरेको छ।
सो छलफलमा नाडाका प्रतिनिधिहरूले चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनमा उक्त व्यवस्था कार्यान्वयन गर्न सहज भए पनि ठूलो संख्यामा एउटै बाकसभित्र आउने अटोमोवाइल स्पेयर पार्ट्समा भने व्यावहारिक समस्या रहेको बताएका थिए। साथै, भन्सारमा बण्डेड वेयरहाउसको व्यवस्था नहुँदा भन्सार यार्डमै स्टिकर टाँस्ने प्रावधान कार्यान्वयन गर्न कठिन हुने धारणा व्यक्त गरिएको थियो।
महानिर्देशक भण्डारीले सबै अटोमोवाइल वस्तुमा MRP स्टिकर लागू गर्नु चुनौतीपूर्ण भए पनि व्यापार सहजीकरण र राजस्व वृद्धिलाई प्राथमिकतामा राखेर विभाग अघि बढिरहेको बताए।
छलफलका क्रममा नाडाका महासचिव मिलनबाबु मल्ल ले वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको सवारीसाधन जाँचपास सम्बन्धी सूचनाबारे जिज्ञासा राखेका थिए। जवाफमा महानिर्देशक भण्डारीले उक्त सूचना कानुनी व्यवस्था अनुसार जारी गरिएको स्पष्ट पार्दै सम्बन्धित आयातकर्ताहरूलाई तोकिएको समयभित्र जाँचपास प्रक्रिया पूरा गर्न आग्रह गरेका थिए।
उक्त छलफलमा नाडाका उपाध्यक्षहरू भद्र भण्डारी र अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सह–कोषाध्यक्ष निलमणि पाठकको उपस्थिति रहेको थियो।




























