नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा २५औं वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर र देशभर रक्तदान कार्यक्रम
Tuesday May 05, 2026
वि.सं.२०८३ वैशाख २२ मंगलवार २२:५७
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सबको अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ। कम्पनीले नि:शुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको जनाएको छ।
कम्पनीका अनुसार बैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ६०१ जनाले सेवा लिएका थिए। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको उक्त शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल र युरिक एसिड लगायतका परीक्षणहरू निःशुल्क गरिएको थियो। साथै, विशेषज्ञ चिकित्सकहरूबाट परामर्श सेवा पनि प्रदान गरिएको थियो।

यसै क्रममा कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। जसअन्तर्गत इटहरी, वीरगञ्ज, जनकपुर, काठमाडौं, नारायणगढ, नुवाकोट, हेटौंडा, बनेपा, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढीमा कार्यक्रम सम्पन्न गरिएको थियो। ती कार्यक्रममार्फत कुल ५०५ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।
“किनकि, जीवन अमूल्य छ!” भन्ने नारालाई आत्मसात् गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू गर्दै आएको जनाएको छ। करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले २५ वर्षको अवधिमा झण्डै ५४ लाख नेपाली परिवारको विश्वास जितेको दाबी गरेको छ। देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विश्वास र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।




























