बजेट कार्यान्वयनमा जोड, ऊर्जा तथा विद्युतीय क्षेत्रले माग्यो लगानीमैत्री वातावरण
Sunday Jun 07, 2026
वि.सं.२०८३ जेठ २४ आइतवार २१:५०
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत उद्योग, ऊर्जा र प्रविधि क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरिरहँदा निजी क्षेत्रले भने ती नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) द्वारा आयोजित ‘फिन इलेक्ट्रो टेक २०२६’ प्रदर्शनीको उद्घाटन समारोहमा सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटको सफल कार्यान्वयनबिना अपेक्षित आर्थिक परिणाम हासिल गर्न नसकिने धारणा राखेका हुन्।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्पादन, उद्योग, ऊर्जा तथा प्रविधि क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यसहित बजेट ल्याइएको बताए। उनले ऊर्जा उत्पादनमा मात्रै सीमित नरही ऊर्जा उपभोग, औद्योगिकीकरण र प्रविधिमैत्री अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
अर्थमन्त्री वाग्लेले नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन, स्मार्ट ग्रिड तथा ऊर्जा दक्ष प्रविधिको विस्तारमार्फत नेपाललाई हरित अर्थतन्त्रतर्फ रूपान्तरण गर्न सकिने उल्लेख गरे। यसका लागि निजी क्षेत्रसँग सहकार्यलाई सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
उता, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवाल ले बजेटमा समेटिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती रहेको बताए। नीति निर्माणभन्दा पनि त्यसलाई व्यवहारमा उतार्न सक्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण, कर प्रणालीको सरलीकरण, भन्सार प्रक्रियामा सहजता तथा स्वदेशी उद्योग संरक्षणमा सरकारको ध्यान जानुपर्ने बताए।
उनका अनुसार विद्युतीय तथा ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास, औद्योगिकीकरण र रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ बलियो हुन आवश्यक छ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ऊर्जा, विद्युतीय, इलेक्ट्रोनिक्स तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि, उत्पादन र सेवाहरू प्रदर्शन गरेका छन्। आयोजकका अनुसार प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, प्राविधिक तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यापारिक अवसर आदानप्रदान गर्ने साझा मञ्चका रूपमा काम गर्नेछ।
प्रदर्शनीमा सयौँ ब्रान्ड तथा कम्पनीहरूको सहभागिता रहेको छ भने कार्यक्रम जेठ २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

























