‘छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२’ को भव्य शुरुवात
Saturday Aug 20, 2022
वि.सं.२०७९ भदौ ४ शनिवार २३:२४
काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आयोजनामा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको भव्य शुरुवात भएको छ । ललितपुरको सानेपामा एक समारोहको बीचमा प्रधानमन्त्री शेरबहादर देउबाले मेलाको उद्घाटन गरेरका छन् ।
मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले महिला उद्यमीहरुले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । महिला उद्यमीहरुले लघु तथा साना उद्यमहरुबाट गरेका उत्पादनहरुले नेपालको व्यापार घाटा कम गर्न सहयोग पुर्याएको उनको भनाइ थियो । साथै उनले महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न सरकारले सहुलियतपूर्ण कर्जाको लागि सहजिकरण गर्न पहल गर्ने बताएका थिए ।
मेला नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । यस ५ दिने मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रर्दशनीमा राखिनेछन ।
मेलामा सातै प्रदेशका जिल्लाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहनेछन । अन्तराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलामा उद्यमी महिलाहरूको सिप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा आफनो दिगो पहिचान बनाउन सघाउ पुयाउनुका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले जनाएको छ ।
मेलामा १०९ वटा स्टल रहेका छन् । ५ दिनसम्म सञ्चालन हुने मेलामा ७५ हजार जनाले अवलोकन गर्नुका साथै २ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।




























