न्युनतम साझा कार्यक्रममा गठबन्धन दलबीचसहमति, साँझ ५ बजे सार्वजनिक गरिँदै
Thursday Apr 06, 2023
वि.सं.२०७९ चैत २३ बिहीवार १३:११
(तस्बिर : प्रधानमन्त्रीको सचिवालय )
काठमाडौं । १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम पारितगर्दै आजै साँझ पाँचबजे त्यसलाई सार्वजनिक गर्ने निणय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा गठबन्धन दलबीच सहमति जुटेको जानकारी दिए।
लोकतन्त्र, राष्ट्रियता र जनजीविकासँग जोडिएका विषयमा, सुशासनका बारेमा मुलभुत रुपमा सहमति भएको छ।’
उनले भने ‘राजनीतिक दलहरुको बीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रुपमा सहमति भएको छ, सबै बीचमा,’
साना तिना केही सुझाव समेटेर आजै साँझ ५ बजे अन्तिम रुप दिइने उनको भनाई छ ।
‘सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ।’ उनले भने
न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल बनेको थियो।























