अस्ट्रेलियामा पनि धुमधामसँग मनाइयो उभौली

Sunday May 21, 2017
वि.सं.२०७४ जेठ ७ आइतवार ०९:३९

नारायण खड्का/ अस्ट्रेलिया
अस्ट्रेलियामा बसोबास गरिरहेका किराँतहरुले आफ्नो परम्परागत पर्व उभौली धुमधामसँग मनाएका छन् । विभिन्न सांगीतिक कार्यक्रम र परम्परागत खानाहरुका साथमा विभिन्न तीन सहरहरुमा मनाइएको किराँत महोत्सवमा नेपालीहरुका साथै विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाएका थिए ।
मेलबर्न र सिड्नीमा यसपहिले सम्पन्न उभौली महोत्सव आइतबार दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको थियो । मेलामा सिड्नी, मेलबर्न लगायतका सहरमा रहेका किराँतीहरुले समेत उल्लेख्य सहभागिता जनाएका थिए । कार्यक्रममा किराँतहरुको परम्परागत च्याब्रुङ्ग नृत्यले सबैलाई मोहित बनाएको थियो भने साकेला नृत्यले विदेशीहरुलाई समेत आकर्षित गरेको थियो । कार्यक्रममा ५ सय बढी स्वदेशी विदेशी अवलोकनकर्ताको सहभागिता रहेको आयोजक किराँत सोसाइटीका पब्लिक रिलेसन अफिसर नबिन काम्बाङले जानकारी दिए ।
कार्यक्रममा नेपाली परम्परागत पोशाकमा सजिएका किराँतीहरुको ढोल, झ्याम्टा, बिनायो, मुर्चङ्गा लगायतका बाजाहरु बजाउँदै सहभागीहरुलाई मनोरञ्जन दिएका थिए । यसैगरि कार्यक्रममा नेपाली खानाहरुको स्टल राखिएको थियो भने सहभागीहरुलाई नेपाली कला संस्कृतिको बारेमा समेत जानकारी दिइएको थियो । आयोजक संस्थाका योग राईले विदेशमा रहेर पनि आफ्नो कला संस्कृति र परम्पराको जर्गेना र प्रवर्द्धन गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा सहभागी विदेशीहरुले समेत कार्यक्रममा उत्साह र चासोका साथ सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी अस्ट्रेलियाली नेताहरुले नेपाली समुदायले अस्ट्रेलियालाई सुन्दर देश बनाउन सहयोग पुर्याएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी पार्लियामेन्ट अध्यक्ष रसल वाट्ली, सांसद जिङ्ग ली लगायतले नेपाली समुदाय कला संस्कृतीमा धनी मात्र नभएर मेहनती र मिलनसार भएको बताउँदै अस्ट्रेलियालाई बहुसाँस्कृतिक देश बनाउन मद्दत पुर्याएको बताएका थिए । पर्यटकीय क्षेत्र भएकाले नेपालको भ्रमण गर्न समेत उनीहरुले सुझाएका थिए । कार्यक्रममा यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुका साथै भुटानी समुदायको समेत उल्लेख्य सहभागिता थियो । साभार : कान्तिपुर दैनिक