जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाहि हुने

Friday May 26, 2017
वि.सं.२०७४ जेठ १२ शुक्रवार २३:२८

१३ जेठ, काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई दुई सय रुपैयाँजरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०–८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।’
महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ । जथाभावी बाटो काट्नेलाई दुई सय देखि एक हजार रुपैयाँ सम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।
पैदलयात्राको क्रममा साथमा दुई सय रुपैयाँ पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ । महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । -रासस