पर्यटक क्षेत्रको विकासमा सरकारले निजी क्षेत्रको साथ लिनुपर्छ : उपाध्यक्ष शाह
Friday Apr 14, 2023
वि.सं.२०८० वैशाख १ शुक्रवार १७:१३
काठमाडौं । होटल एशोसिएसन अफ नेपाल हानका उपाध्यक्ष विनायक शाहले पयर्टन क्षेत्रको विकासमा सरकारले केही गर्न नसके पनि निजी क्षेत्रलाई लिएर हिड्न सके राम्रो नतिजा आउने बताएका छन् ।
शुक्रबार बसन्तपुरमा आयोजित नेपाल पर्यटन दिवसको अवसरमा पर्यटन बहस कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर र उनीहरूको विश्वास जितेर काम गर्नुपर्ने सुझाव दिए ।
उनले भने‘नेपालमा एउटा विडम्वना के छ भने पुरानो सरकारले गरेको केही पनि राम्रो हुँदैन् । त्यो त मेरो विचारमा तुहियो होला । आज त्यसको सचिवालय पनि छैन् एक पैसा बजेट पनि छुट्टयाएको पनि छैन् । हाम्रो निजी क्षेत्रको माग के छ भने हामीलाई अन्तराष्ट्रिय स्तरको मेघा ईभेन्ट चाहियो ।
उनले सबैलाई पर्यटन चाहिएको छ तर त्यसलाई तान्न सरकारको नीति निर्माणदेखि निजी क्षेत्रको सक्रियताको आवश्यकता छ । यस क्षेत्रमा लगानी उठाउन धेरै समय लाग्ने भएकोले पनि धैर्य गर्न सक्नेको कमी रहेको उपाध्यक्ष शाहको भनाइ छ ।
यस्तै गैर आवाशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्रि केसीले नेपालको पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन एनआरएनएले सरकारलाई पत्र लेख्यो तर सरकार कानमा तेल हालेर बसेको कारण केही गर्न नसकेको चर्चा गरे ।
अहिले विदेशमा रहेका नेपालीहरु एाआरएनए कार्ड लिएर डोमेष्टिक एयरमा चढ्ने हो भने विदेशी सरह पैसा लिन्छ । हामी आफनै देशमा आएर विदेशी जस्तो हुनु परेको छ ।
हामीले पर्यटन क्षेत्रलाई अगाडि लाने विषयमा पत्रहरु लेख्यौं मन्त्रीहरु कानमा तेल हालेर बस्नु भयो । पर्यटन मन्त्रालय ,पर्यटन बोर्डले जुन नीति बनाउछ त्यसमा हामीलाई पनि सहभागी गरावस । आजको भोलि नै फड्को मार्न सक्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ । काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक छ । त्यसको लागि हामी तयार छौं ।

























