सिटिजन्स बैंकको ७५९.५६ प्रतिशतले ऐतिहासिक छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ

Sunday Apr 20, 2025
वि.सं.२०८२ वैशाख ७ आइतवार २२:४३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.६० प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको ९ महिनाको अवधि (आश्विनदेखि चैत मसान्तसम्म) मा खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले वृद्धि भई ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.८९ प्रतिशतले बढेर ५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा भने २८.३४ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।
विशेष ध्यान खिच्ने पक्ष भनेको बैंकको वितरणयोग्य नाफामा भएको ७५९.५६ प्रतिशतको ठूलो छलाङ हो। यो नाफा बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको फागुनमा १ करोड ८९ लाख रुपैयाँ मात्र थियो।
चालु आवको फागुन मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ४ प्रतिशतले बढेर १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १२.८३ प्रतिशतले वृद्धि भई ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ भएको छ।
त्यस्तै, बैंकको निक्षेप संकलन ५.१३ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.४० प्रतिशतले बढेर १ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS) २.६९ रुपैयाँ घटेर ८.६८ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात (NPL) भने बढेर ५.७१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको फागुनमा ३.७६ प्रतिशत मात्र थियो।