होन्डा एक्टिभाले भारतमा रच्यो नयाँ इतिहास, ३ करोड ५० लाख युनिट बिक्रीको रेकर्ड
Friday Oct 31, 2025
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १०:२१
काठमाडौं । भारतको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक होन्डा एक्टिभा (Honda Activa) ले नयाँ इतिहास रच्दै ३ करोड ५० लाख युनिट बिक्रीको रेकर्ड कायम गरेको छ। यो उपलब्धिसँगै एक्टिभा भारतकै सबैभन्दा बढी बिक्री हुने स्कुटर बनेको हो।
सन् २००१ मा पहिलोपटक बजारमा आएको एक्टिभा सुरुमा साधारण डिजाइन, सहज सवारी र भरपर्दो प्रदर्शनका कारण लोकप्रिय बनेको थियो। हाल यस स्कुटरका विभिन्न भर्सनहरू — एक्टिभा ११०, एक्टिभा १२५ र एक्टिभा–आई — बजारमा उपलब्ध छन्।
पहिलो १ करोड युनिट बिक्री गर्न यस स्कुटरलाई करिब १४ वर्ष अर्थात् २०१५ सम्म लाग्यो। त्यसपछि यसको बिक्री तीव्र गतिमा बढ्दै गएको हो। अर्को १ करोड युनिट बिक्री गर्न मात्र तीन वर्ष अर्थात् २०१८ सम्म लाग्यो। अहिले २०२५ मा आइपुग्दा एक्टिभाले ३ करोड ५० लाख युनिट बिक्री गर्दै नयाँ माइलस्टोन पार गरेको छ।
कम्पनीका अनुसार, एक्टिभाले भारतमा होन्डाको कुल बिक्रीको ५० प्रतिशतभन्दा बढी योगदान दिएको छ। होन्डाको दुईपांग्रे सवारीमध्ये यो हालसम्मको सबैभन्दा बढी बिक्री हुने मोडेल हो।
सफलताको कारण
एक्टिभाको सफलताका पछाडि यसको सादगी, भरपर्दोपन, सहज सवारी अनुभव र कम मर्मत खर्च प्रमुख कारणका रूपमा रहेका छन्। सहरदेखि गाउँसम्मका सबै वर्गका मानिस — पुरुष, महिला, वृद्ध वा युवा — सबैका लागि यो उपयुक्त स्कुटर मानिन्छ। विशेषगरी साडी लगाउने महिलाहरूका लागि यो चलाउन सजिलो र सुरक्षित मानिन्छ।
आधुनिक प्रविधि र सुधार
समयसँगै होन्डाले एक्टिभामा निरन्तर सुधार र नयाँ प्रविधिहरू थप्दै आएको छ। हालका मोडेलहरूमा कम्बी–ब्रेक सिस्टम (CBS), एच–स्मार्ट टेक्नोलोजी, स्मार्ट की सिस्टम, एलईडी हेडलाइट, डिजिटल कन्सोल र ब्लुटुथ कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ।
नेपालमा अवस्था
भारतमा जस्तै सफलता भने नेपालमा एक्टिभाले हासिल गर्न सकेको छैन। नेपाली बजारमा होन्डा डिओ (Honda Dio) स्कुटर बढी लोकप्रिय बनेको छ। यही कारणले एक्टिभा स्कुटर होन्डा नेपालको आधिकारिक वेबसाइटमा पनि समावेश गरिएको छैन।
२४ वर्षको यात्रापछि होन्डा एक्टिभा अहिले पनि भारतको दुईपांग्रे बजारमा विश्वसनीयता, सहजता र आरामको पर्याय बनेको छ।

























