चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य
Monday May 25, 2026
वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६
काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय फुटबल टोलीको आधिकारिक ग्लोबल पार्टनर बनेको छ ।
लिस्बनस्थित सिदाद दो फुटेबल मा आयोजित विशेष कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल फेडेरेसन सँग ऐतिहासिक रणनीतिक साझेदारी घोषणा गरेको हो ।
यो सहकार्यसँगै विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स तथा राफेल लियाओ सम्मिलित पोर्चुगल राष्ट्रिय टोलीसँग चांगानको प्रत्यक्ष सहकार्य सुरु भएको छ ।
कम्पनीले यो साझेदारीलाई आफ्नो ‘भास्ट ओसन प्लान’ रणनीतिको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरेको छ । खेलकुद, प्रविधि तथा जीवनशैलीसँग जोडिएको विश्वव्यापी मार्केटिङमार्फत अन्तर्राष्ट्रिय बजारमा ब्राण्ड उपस्थिति बलियो बनाउने उद्देश्य कम्पनीको रहेको जनाएको छ ।
अटो चाइना २०२६ मा सार्वजनिक गरिएको ‘भास्ट ओसन प्लान २.०’ अन्तर्गत चांगानले विश्व बजारमा केवल विस्तार गर्ने मात्र नभई स्थानीय बजारमै गहिरो उपस्थितिसहित स्थापित हुने रणनीति अघि सारेको छ ।
कम्पनीले सन् २०३० सम्म चीनबाहिर १५ लाख गाडी बिक्री गर्ने तथा युरोपमा चिनियाँ अटोमोबाइल ब्राण्डमध्ये अग्रणी बन्ने महत्वाकांक्षी लक्ष्य लिएको जनाएको छ ।
साझेदारी घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई दिपल एस०५ प्लग–इन हाइब्रिड हस्तान्तरण गर्नुका साथै लिस्बनदेखि म्याड्रिड हुँदै टुरिनसम्मको एक हजार किलोमिटर लामो युरोपियन टेस्ट ड्राइभ कार्यक्रमको पनि उद्घाटन गरेको थियो ।
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका विश्वभर ५० करोडभन्दा बढी समर्थक रहेको बताउँदै कम्पनीले यस्तो साझेदारीले युरोपेली उपभोक्तामाझ आफ्नो ब्राण्ड छवि थप सशक्त बन्ने विश्वास व्यक्त गरेको छ ।
चांगानले यसअघि नै पोर्चुगल, नर्वे तथा ग्रिसमा विशेष वितरक सम्झौता गरिसकेको छ । कम्पनीका अनुसार अब पोर्चुगल केवल मार्केटिङको केन्द्र नभई सक्रिय व्यावसायिक बजारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
कम्पनीले यो सहकार्यलाई परम्परागत प्रायोजनभन्दा माथिको सम्बन्धका रूपमा व्याख्या गरेको छ । दृढता, उत्कृष्टता तथा दीर्घकालीन सोचजस्ता साझा मूल्यले पोर्चुगल फुटबल टोली र चांगान अटोमोबाइललाई एकसाथ जोडेको कम्पनीको भनाइ छ ।
४५ वर्षको यात्रामा विश्वका अग्रणी अटोमोबाइल उत्पादकमध्ये आफूलाई स्थापित गर्न सफल भएको दाबी गर्दै चांगानले खेलकुदमार्फत विश्व बजारसँग अझ नजिकिने रणनीति अघि बढाएको जनाएको छ ।























