सरकारी कम्पनीको व्यापार खोसेर शेखर र साहिल अग्रवालहरुलाई पोस्दै सरकार
Wednesday Jun 29, 2022
वि.सं.२०७९ असार १५ बुधवार १८:२८
काठमाडौं । ‘गाई मारेर गधा पोस्ने धन्दा’मा बिचौलियाहरु त सक्रिय थिए नै अर्थमन्त्री जर्नादन शर्मा समेत अग्रसर भएको भेटिएको छ ।
केही अघिमात्र एक जना पूर्व नायब सुब्बाका कारण बदनामी खेपेका मनत्री शर्माले बिचौलिया दीपक भट्टको प्रभावमा परेर हालैमात्र केही नामुद व्यापारीहरुले चलाएको एक कम्पनीलाई बार्षिक अर्बाैको कारोबार सुम्पिएका छन्,त्यो पनि नेपाल सरकारको झण्डै ७० प्रतिशत लगानी रहेको अर्काे कम्पनीको व्यापार खोसेर ।
अघिल्लो बर्षमात्र अवैद्य ढंगबाट जन्मिएको एउटा कम्पनीलाई सरकारी नेपाल पुर्नबीमा कम्पनीको व्यापार खोसेर पोस्ने धन्दामा अर्थमन्त्री जर्नादन शर्मालाई बिचौलिया दीपक भट्टले लुटुपुटु पारेको र उनकै दबाब र प्रभावमा अघिल्लो महिना यो काम तमाम पारिएको बीमा समितिले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अघिल्लो बर्ष शेखर गोल्छा,शतिष मोर,कैलास सिरोहिया,शशिकान्त अग्रवालदेखि पशुपति मुरारका लगायतका व्यापारीहरुले सात ७ अर्ब रुपैयाँ लगानी गरेर खोलेको हिमालयन रि इन्स्योरेन्सलाई पुर्नबीमा कम्पनीकोको व्यापार खोसेर पोस्ने काम जेठ पहिलो साता अघि बढाएर अहिले तमाम पारिएको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीले सञ्चालन अनुमति नै चोरबाटोबाट पाएको हो । लगानी बोर्डका सिइओ सुशील भट्टका दाजुभाईको ती साहिल अग्रवालजस्ता बदनाम व्यापारीहरुसँगको विशेष साँठगाँठमा गत बर्षमात्र सञ्चालन अनुमति दिइएको थियो । सोही कम्पनीलाई सञ्चालन अनुमति दिनकै लागि नोटिस निकालिएको थियो बर्षदिन अघि ।
पुर्नबीमाको लाइसेन्स लिने दौडमा हिमालयनसहित काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्योरेन्स भए पनि बदनाम व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टहरुको प्रभावमा पारेर बीमा समितिले हिमालयन रि लाई लाइसेन्स दिएको हो । यसरी बर्ष दिन अघि मात्र चोरबाटोबाट इजाजत पाएको कम्पनीलाई नेपाल सरकारको झण्डै ७० प्रतिशत लगानी रहेको नेपाल पुर्नबीमा कम्पनीको आधा हिस्सा व्यापार खोसेर अधिकांश मारवाडी व्यापारीहरुले चलाएको हिमालयन रि इन्स्यारेन्सलाई पोस्ने काम तमाम पारिएको हो ।
सो कम्पनीलाई पोस्नकै लागि पूर्व पूर्व सचिव सुर्य सिलवालले सञ्चालक समितिको बैठक बोलाएर नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीलाई दिँदै आएको कूल बीमा शुल्कको २० प्रतिशत प्रत्यक्ष हिस्सामध्ये नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई आधा आधा बाँडफाँड गर्ने सम्बन्धी प्रस्ताव पेश गरी स्वीकृत गरेर सोको भोलिपल्टै सबै बीमा कम्पनीलाई सर्कुलर गरिएको थियो ।
यो प्रकरणमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका साथैं सञ्चालकहरु सुशिल कोइराला, रितेश शाक्य, कपिलदेव ओली र सन्तोष रिजाल तथा सदस्य सचिव बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल मुछिएका छन् ।
यस अघि नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको कूल बीमाको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा पाउँदै आएकोमा बीमा समितिको सो निर्णय सँगै पुर्नबीमाको व्यापारको १० प्रतिशत हिस्सा खोसेर हिमालयन रि इन्स्योरेन्समा पुगेको छ । बीमा समितिको यो निर्देशनबाट हिमालयन रिलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रत्यक्ष लाभ पुग्न गएको छ भने नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको साढे तीन अर्ब व्यवसाय हिस्सा खोसिएको छ ।
स्रोतका अनुसार हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा अर्थमन्त्री जनार्दन शर्माका वाई आलोक प्रताप राणा म्यानेजर पदमा कार्यरत छन् । यता कुपण्डोलस्थित बीमा समितिका सञ्चालकमा सालो सन्तोष रिजाल ।
बिचौलिया दीपक भट्टले अर्थमन्त्रीका नातेदार ( सालो)मार्फत दबाब दिएर उनले हिमालयन रि इन्स्योरेन्सलाई व्यापार दिलाएको चर्चा कुपण्डोलस्थित बीमा समितितिर चल्न थालेको छ ।
यसरी गाई मारेर गधा पोसिएको भन्दै यो प्रकरणमा जोडिएका अर्थमन्त्री,बीमा समितिका अध्यक्ष सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल,बीमा समितिका सञ्चालक तथा कानुन मन्त्रालयका सह सचिव सुशिल कोइराला,बीमा समितिका सञ्चालक तथा आन्तरिक राजश्व विभाग प्रमुख रितेश शाक्य, बीमा समितिका सञ्चालक कपिलदेव ओलीका अलवा अर्थमन्त्रीका ज्वाई तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका म्यानेजर आलोक प्रताप राणालाई समेत विपक्षी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिसम्म गुहारिएको छ ।




























