नेकपाका यी ‘बिग फोर’ले किन गरे बैठक बहिष्कार ?
Sunday Dec 09, 2018
वि.सं.२०७५ मंसिर २३ आइतवार ०४:२२

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै चार शीर्ष नेताहरु उत्रिएका छन् । उनीहरु ओलीले पार्टी र सरकार संचालनमा देखाएको रवैया विरुद्ध उत्रिएका हुन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको कारणले गर्दा सरकार र पार्टी दुबै बद््नाम हुँदै गईरहेको सन्दर्भमा स्थायी कमिटीको बैठक बोलाउने माग पार्टी शीर्ष नेताहरुबाट भएपनि उनले पटक पटक बैठक टार्दै आइरहेका थिए ।
यसैबिच मंसिर २२ गते सचिवालयको बैठक दिनको ३ बजेको लागि राखिएको थियो । बैठकको लागि नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा प्रवक्ता नारायाणकाजी श्रेष्ठ समयमै पुगे । तर अध्यक्षद्वय केपी शर्मा ओली तथा प्रचण्डका साथै महासचिव विष्णु पौडेल भने तोकिएको समयमा उपस्थित भएनन् ।
ओलीले यसअघि पनि बैठक बोलाउने र नेताहरुलाई घण्टौं कुराउने गर्दैं आएका थिए । उनको यस्तो व्यवहारबाट वाक्क दिक्क भएका नेताहरुले बैठक बोलाएको समयभन्दा १५ मिनेट मात्रै ढिला भएपनि सचिवालयले जानकारी गराउनुपर्ने नियम बनाए । तर निर्धारित समय भन्दा १७ मिनेट ढिला भईसक्दा पनि बैठकमा न अध्यक्षद्वय र महासचिव भए, न त सचिवालयमार्फत् नेताहरुलाई कुनै जानकारी नै गराइयो । यसो भएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकस्थल छाडेर हिँडे ।
त्यसपछि नेतात्रय माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम समेत बैठकस्थलबाट बाहिरिए । आधा घण्टासम्म कुर्दापनि बैठक स्थलमा ओली, प्रचण्ड र पौडेल नदेखिएपछि नेतात्रय बाहिरिएका हुन् ।
सचिवालयको बैठक सरकारको कामकारबाही र पार्टी समायोजनको एजेन्डामा छलफल गर्नको लागि बोलाईएको थियो । शीर्ष चार नेताबिनाको अनुपस्थितिमा बसेको अध्यक्षद्वय र महासचिवको अनौपचारिक बैठकले यही मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टीको अन्य कार्यक्रममा पनि समयको ख्याल गर्न र अनावश्यक रुपमा अतिथिको थुप्रो नलगाउन कार्यकर्तालाई सुझाउँदै आएका ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वलाई सचेत गराउन तथा पार्टीमा एउटा थिति बलाल्नको लागि आफूले १७ मिनेटपछि बैठक स्थलबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् । नेताहरुले आफैको निर्मम समीक्षा गर्नुपर्ने सुझाव उनको रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने ओलीले भने टार्ने नियतले बैठकमा ढिलाई गरेको कुराको खण्डन गरे । ‘बैठक टार्ने कुरा हुँदै होइन ।’ उनको प्रतिक्रिया थियो – ‘पार्टीगत समस्या र कारणबारे कुरा के थिए र के कारणले यस्तो भयो भन्नेबारे उहाँहरूसँगै सोध्नुभयो भने थप जानकारी होला । मसँग यसबारे जानकारी भएन ।’ तर नेकपाका नेताहरुले भने शीर्ष नेताहरुबाट आफूविरुद्ध हुने आलोचनाबाट बच्न सकभर स्थायी कमिटी बैठक टार्न खोजेको बताइरहेका छन् ।
यसैको लागि पार्टीबाट स्थायी कमिटीको बैठक बोलाउन दवाव आएपछि ओली बैठक बोलाउने बाध्यतामा परेका हुन् । गत असारमै स्थायी कमिटीको बैठक बोलाएर सरकारका कामकारबाहीको समीक्षा गर्ने भनिएपनि उक्त बैठक सर्दै सर्दै मंसिर २९ गते पुगेको छ । ‘आफू विदेश भएको मौका पारेर एकलौटी निर्णय लिइएको’मा ठुस्किँदै आएका पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी सञ्चालनको कार्यशैलीप्रति तीव्र आलोचना हुन सक्ने देखेर ओलीले स्थायी कमिटी टार्दै आएको आरोप लगाएका छन् ।




























