निर्वाचनका लागि काम रोकेर सुचारु नारायणगढ–मुग्लिन सडकखण्ड पुन: ६ घण्टा बन्द हुने
Thursday May 18, 2017
वि.सं.२०७४ जेठ ४ बिहीवार ०१:१४
४ जेठ, चितवन- निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ ।
निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले भोलिदेखि कामलाई तीव्रता दिइने उनले बताए।
कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन ।
उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ । भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ ।
खनालका अनुसार दुई किलोमिटर कालोपत्र गरिएको छ । वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ ।