भूकम्पपछिको आठ वर्ष : एक लाख विस्थापितको घर अझै बनेन
Tuesday Apr 25, 2023
वि.सं.२०८० वैशाख १२ मंगलवार १२:३१
काठमाडौं । १२ बैशाख ०७२ को भूकम्पमा ध्वस्त १ लाख निजी आवास अझै पुनर्निमाण हुन सकेका छैनन् । झण्डैं ४ सय विद्यालय र साँढे ३ सय अस्पताल निर्माण अधुरै छन् ।
९ पुस ०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटनपछि निजी आवास, अस्पताल र सरकारी भवन निर्माण सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय योजना कार्यन्वयन इकाईले गर्दै आएको छ ।
इकाईकाअनुसार भुकम्पबाट प्रभावित ३१ जिल्लामा सबै गरी करिब १० लाख स्थानीय विस्थापित भएका थिए । जसमध्ये तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरेको थियो ।
तर, निजी आवस बनाउने सात लाख ३३ हजार दुई सय १४ मात्रै पुगे । ९९ हजार ३ सय ७१ विस्थापितले निजी अवास बनाउनै सकेनन् ।
भवन विभागअन्तर्गत केन्द्रीय योजना कार्यान्वयन एकाइका प्रमुख कोशनाथ अधिकारीले झण्डै एक लाख विस्थापितको निजी आवास निर्माण हुन नसकेको बताए । उनले भने,‘भूकम्पमा बिस्थापित मध्ये आठ लाख ३२ हजार स्थानीयसँग अनुदान सम्झौता भयो ।
जसमध्ये सात लाख ३३ हजारले निजी आवास निर्माण गरे । तर, करिब एक लाख विस्थापितले आवास नै निर्माण गर्न सकेनन् ।’
इकाईका अनुसार निजी भवन निर्माण गर्न आठ लाख ३२ हजार चार सय ७० ले पहिलो किस्ता वातपको ५० हजार अनुदान रकम लिए । तर, तीमध्ये ६६ हजार ६ सय नौ लाभग्राहीले हालसम्म पनि दोस्रो किस्ता लिएका छैनन् ।
त्यस्तै, सात लाख ६५ हजार आठ सय ६१ लाभग्राहीले दोस्रो किस्ता वापतको एक लाख ५० हजार रुपैयाँ अनुदान लिए । तर, त्यसमध्ये ३२ हजार ६ सय ४७ ले तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ अनुदान लिन सकेनन् ।
इकाईका अनुसार पहिलो किस्ता लिएको मध्ये तीन अर्ब ३३ करोड चार लाख ५० हजार रुपैयाँ र दोेस्रो किस्ता लिएको मध्ये चार अर्ब ८९ करोड ७० लाख ५० हजार रुपैयाँ गरी कुल आठ अर्ब २२ करोड ७५ लाख रुपैयाँ खेर गएको छ । इकाई प्रमुख अधिकारीले पहिलो र दोस्रो किस्ता लिएर आवास नबनाउनेको हकमा रकम फिर्ता मागिने बताए ।
उनले भने,‘अनुदान बापतको झण्डै साँढे आठ अर्व रुपैयाँ खेर गएको देखिन्छ । यो रकम पहिलो र दोस्रो किस्ता बापतको रकम हो । जसले अनुदान रकम लिए । तर, आवास बनाएनन् । उनीहरुबाट सबै रकम फिर्ता मागिनेछ । रकम फिर्ता नगर्नेलाई कानुन अनुसार कारबाही गरिनेछ ।’
निजी आवास
अनुदान सम्झौता ८,३२,५८५
पहिलो किस्ता लिने ८,३२,४७०
दोस्रो किस्ता लिने ७,६५,८६१
तेस्रो किस्ता लिने ७,३३,२१४
निजी आवासमा खर्च रकम
पहिलो किस्ता ४१ अर्व ६२ करोड ३२ लाख
दोस्रो किस्ता एक खर्व १४ अर्व ८७ करोड ५० हजार
तेस्रो किस्ता ७३ अर्व ३२ करोड १४ लाख
जम्मा दुई खर्व २९ अर्व ८२ करोड ४० लाख
विद्यालय भवन
भूकम्पमा ध्वास्त भवन ७,५८१
निर्माण सम्पन्न ७,१७९
निर्माण बाँकी ३९१
अस्पताल भवन
भूूकम्पमा ध्वस्ता भवन १,१३७
निर्माण सम्पन्न ८०७
निर्माण बाँकी ३३०
सम्पदा निर्माण
भूकम्पमा ध्वस्त सम्पदा ९२०
निर्माण सम्पन्न ७०३
निर्माण बाँकी २१७
सरकारी भवन
भूकम्प ध्वस्त भवन ४१५
निर्माण सम्पन्न ४००
निर्माण बाँकी १५
मत्यू ८,८९१
घाइते २२,३००
पुनर्निर्माणमा हालसम्म झण्डै ४ खर्व खर्च
राष्ट्रिय पुनर्निर्माण राष्ट्रिय प्राधिकरण ९ पुस ०७८ मा बिघटन भयो । त्यस अवधिसम्म प्राधिकरणले निजी आवास, सरकारी तथा अस्पताल निर्माणमा तीन खर्व ७१ अर्व रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणको काम भवन विभागअन्तर्गत केन्द्रीय योजना कार्यान्वयन एकाइमा सरेपछि १५ अर्व ५८ करोड नौ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । त्यसर्थ, भुकम्पपछि पुनर्निर्माणका लागि सरकारले हालसम्म तीन खर्ब ८६ अर्ब ५८ करोड नौ लाख १५ हजार खर्च गरेको छ ।
ऐतिहासिक संरचनाको पुनर्निर्माण अझै अपूरै
१२ बैशाख ०७२ को भूकम्पले धरहरा मात्रै ध्वस्त बनाएन । बसन्तपुर, पाटन, भक्तपुरस्थित ऐतिहासिक महत्वका पुराना दरवार पनि ध्वस्त बनायो । मुलुककै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारदेखि राष्ट्रको ढुकटी मानिने नेपाल राष्ट्र बैंकको भवन पनि भुकम्पका कारण ध्वस्त भए । त्यसमध्ये बसन्तपुर, पाटन र भक्तपुरका दरवारको पुनर्निर्माण करिबकरिब पुरा भए ।
तर, धरहरा, सिंहदरवार, राष्ट्र बैंक भवन, बालमन्दिर, केशर महल, राष्ट्रपति भवन, बागदरवार, श्रीमहल, हरिहर भवन, नारायण महल, त्रिचन्द्र कलेज जस्ता ऐतिहास दरवार अझै निर्माण हुन सकेका छ्रैनन् । त्यसबाहेक २ सय १५ पुराना गुम्बा पनि निर्माण हुन सकेका छैनन् ।
सचेत गराए क्षाति कम गर्न सकिन्छ ः भूकम्प मापन केन्द्र
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भुकम्पको जोखिमबाट जोगिन विद्यालयस्तरको शैक्षिक ‘करिकुलम’मा नै भुकम्प सम्वन्धी शिक्षा दिन आवश्यक रहेको बताए । भुकम्पसँग सम्वन्धित शिक्षाले मानिस सचेत हुने र उनीहरुमा आत्तिने क्रम पनि घट्ने हुँदा मर्ने दर घट्ने उनको भनाई छ ।
उनले भने,‘१२ बैशाख ०७२ को नेपालमा गएको पहिलो भूकम्प होईन । तर, हामीलाई त्यो भुकम्प पहिलो भए झै लाग्छ । किनकी हामीलाई यसबारे कुनै प्रकारको शिक्षा नै दिइएको छैन् । शिक्षा दिएपनि त्यो अपूरो भयो । जसकारण भूकम्पमा परेरभन्दा पनि आत्तिएर मानिसको धेरै मृत्यू भयो । त्यो भनेको शिक्षाको कमिले भएको हो । भूकम्प सम्वन्धि शिक्षा दिने र हाम्रा संरचना बलियो बनाउने हो भने जोखिमको क्षतिलाई कम गर्न सकिन्छ ।’























