CG Electronics
IME Life
NIMB

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सुरु, ५ दिनसम्म चल्ने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक विशेष समारोहमाझ एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर क्यान इन्फोटेकको औपचारिक उद्घाटन गर्नुभयो ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत क्यान इन्फोटेक २०२५ को भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले निजी क्षेत्रको सहयोगमा सूचना प्रविधि उद्योगमैत्री कार्यक्रम सञ्चालन, नवप्रवर्तन तथा स्टार्टअप संस्कृतिको विकास, स्वदेशी सीप र कलाको प्रोत्साहन, प्राविधिक जनशक्ति उत्पादन र परिचालन मार्फत देशको अर्थतन्त्र सुदृढ बनाउन सरकारका तर्फबाट अधिकतम पहल भइरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री गुरुङले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो , “तपाईंहरू मेहनत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔँ ।” उहाँले निजी क्षेत्रको प्रयासको सराहना गर्दै सरकारको तर्फबाट ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै आईटी क्षेत्रलाई उद्योगको मान्यता दिन सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।

उहाँले आईटी पार्क, ज्ञान पार्क र एआई रिसर्च सेन्टरको अभाव रहेको बताउँदै आगामी वर्ष कम्तीमा एउटा आईटी पार्क खोल्ने योजना रहेको सुनाउनुभयो । “हामी कम्तीमा एउटा आईटी पार्क वा नलेज पार्क बनाउने योजनामा छौँ । काठमाडौंमा सुरु गरेर सात ओटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो । मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अध्यादेशमार्फत सकारात्मक कदम चालेको जानकारी दिनुभयो ।

साथै, साना आईटी उद्यमीहरूलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उद्घाटन समारोहमा नास्टका उपकुलपति प्राडा दिलिप सुब्बा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतका वक्ताहरूले क्यान इन्फोटेक २०२५ को भव्य सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, त्रिवि इन्जिनियरिङ संस्थाका प्राडा सुवर्ण शाक्य, क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, क्यान इन्फोटेकका शीर्ष प्रायोजक एचएमसी नेपाल हिक्सेमीका सन्तोष कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वसहित सूचना प्रविधि क्षेत्र सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, क्यान महासंघका सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि सम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको समेत उहाँले बताउनुभयो ।

क्यान महासंघले यस वर्ष नीति निर्माण सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै उहाँले प्रविधि क्षेत्रको विकासमा सरकारसँग नजिक रहेर काम गर्ने योजना रहेको बताउनुभयो । “डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डट एनपी सम्बन्धी नीति निर्माण गर्ने, राइड शेयरिङ सम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङ सम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्यान्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन गर्नुपर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणालाई अगाडि सारेको छ,” उहाँले भन्नुभयो ।


३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजन एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् । प्रायोजनको आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम’ रहेको छ ।

त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि. (ज्याप) रहेका छन् । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा. लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा. लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा. लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

यस प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तरक्रियाका लागि उत्कृष्ट अवसरको रूपमा प्रयोग हुने विश्वास गरिएको छ । प्रदर्शनीमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टर लगायतका सेवा तथा उत्पादन राखिएको छ ।

यस पटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेको छ । त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

साथै, क्यान इन्फोटेकमा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिने भएको छ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् । त्यस्तै, क्यान इन्फोटेक २०२५ मा पहिलो पटक नेपालमै निर्मित मुनाल स्याटलाइट समेत अवलोकन गर्न सकिने छ ।

क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताउनुभयो । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै, कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तरक्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार, सम्बन्धित निकायहरू, सूचना प्रविधि व्यवसायी, नीति निर्माता, विज्ञ, शिक्षण संस्था, सञ्चारकर्मी र प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष आह्वान गरेको छ ।

क्यान महासंघबारे:
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरूको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी र विज्ञहरूको हक हितका लागि काम गर्दै आएको छ र नीति निर्माण, कार्यान्वयन तथा सहजीकरणका कार्यक्रमहरूमा सरकारलाई आवश्यक सुझाव र सहयोग प्रदान गर्दै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एसोसिएसन नेपाल महासंघमा रुपान्तरित भएको हो ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...