पप गायक जस्टिन बिबर चर्को गर्मी सहन नसकेर फर्किए
Saturday May 13, 2017
वि.सं.२०७४ वैशाख ३० शनिवार ०७:३१
३० बैशाख, भारत – अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबर भारतको चर्को गर्मी सहन नसकेर कुलेलाम ठोकेका छन् । मुम्बईमा दुई घन्टा पर्फमेन्स दिने क्रममा उनी गर्मीबाट आजित बनेका थिए ।
डिवाई पाटिल रंगशालामा आयोजित कन्सर्ट सकेर उनी सिधै एयरपोर्ट गए र आफ्नो प्राइभेट जेट चढेर जोहान्सबर्गतिर लागे । त्यहाँ उनको १४ र १७ मे मा कन्सर्ट छ ।
वल्र्ड पर्पज टुर अन्तरगत भारत आएका जस्टिन आग्रा र दिल्ली पनि जाने कार्यक्रम थियो । तर उनी बीचमै हिँडे ।
खबरअनुसार स्टेजमा गीत गाउने क्रममा नै उनले भनेका थिए कि यो शहरमा औधि गर्मी छ । कन्सर्ट सकिएपछि उनले बाटोमै आफ्नो टिशर्ट फेरेका थिए ।
बलिउडका थुप्रै हस्तिहरुले जस्टिनका लागि पार्टी दिने तयारी गरेका थिए । कतिपयले उपहार पनि तयार पारेका थिए । तर, जस्टिन हिँडेपछि सबै निराश बनेका छन् ।