गण्डकी प्रदेशमा मुख्यमन्त्री अधिकारीको सरकार ढल्यो
Saturday Apr 22, 2023
वि.सं.२०८० वैशाख ९ शनिवार २१:४३
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतको लागि गरेको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका थिए ।
तर नेकपा माओवादी केन्द्रका ७, नेपाली काँंग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।
६० सदस्यीय प्रदेशसभामा सरकार बन्न ३१ मतको आवश्यक पर्दछ ।
एमाले संसदीय दलका नेता अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुष २५ मा मुख्यमन्त्रीमा नियुक्त भई पुस २९ मा विश्वासको मतसमेत लिएका थिए ।
तर, केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि माओवादी केन्द्रले चैत १० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले शनिबार उनले विश्वासको मतको प्रस्ताव राख्दै माओवादी केन्द्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।
























