एमएडब्लू वृद्धिद्वारा नेपालभर १०० भन्दा बढी ईभी चार्जिङ स्टेशनको स्थापना

Sunday Apr 20, 2025
वि.सं.२०८२ वैशाख ७ आइतवार २३:१६

काठमाडौं, नेपाल – एमएडब्लू वृद्धिले नेपालभरि सयभन्दा बढी विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशनहरू स्थापना गरेको छ। यस उपलब्धिको अवसरमा कम्पनीले आइतबार विशेष कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ।
उक्त कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टसहित विभिन्न पदाधिकारीहरू सहभागी थिए।
चार्जिङ स्टेशनहरू काठमाडौं, पोखरा, विराटनगर, चितवनजस्ता शहरी क्षेत्रदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता दुर्गम भेगसम्म फैलिएका छन्।
चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) क्षमता भएका चार्जरहरू समावेश गरिएको छ।
सीईओ तुषार गुप्ताले भने, “बिस्तार भइरहेको चार्जिङ नेटवर्कले नेपालीहरूलाई विद्युतीय सवारीको दिशातर्फ विश्वासका साथ अघि बढ्न मद्दत गर्नेछ।”
कम्पनीले आगामी दिनमा देशका अन्य भागहरूमा पनि चार्जिङ स्टेशनहरूको विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।